सबितालाई मैले जिन्दकीमा उस्को नामले कहिल्यै बोलाइन । मैँया नै भन्थेँ । मभन्दा मैँया ३ महिनाले कान्छी थिई। मैयाको घर हाम्रो घरभन्दा ३ कान्ला मास्तिर थियो । 1 छोरापछी बुढेसकालमा जन्मिएकी मैँया भिमसेन काकाकी घरकी लक्ष्मी नै थिई । यता म संयुक्त परिवारमा जन्मिएको जेठो नाति सबैको प्यारो थिएँ । सबैको लाडप्यारले म अलि चकचके थिएँ उता मैँया शान्त स्वभावकी थिई। मैँयाको मम्मी र हाम्रो आमाको (हजुरआमा) खुब् दोस्ती थियो । हुनसक्छ मैँया आफ्नी आमाको साथमा हाम्रो घर आउँदा मसँग भेट भयो , या म आमासँग मैयाको घरमा जाँदा मैँयासँग भेट भयो । मेरो दिमागमा स्टोर भएको मेमोरी जति एक्सप्लोर गरेपनि मैँयासँगको पहिलो भेट नाम निसाना पाउन्नँ । मैँया र मेरो प्रेम भनौँ या दोस्ती , त्यसमा "फस्ट साइट " भन्छन् क्यारे, त्यसले खासै महत्व राखेन ।
सानोमा मलाइ धेरैले तँ ठुलो भएपछि के गर्छस् भनि सोध्थे । मेरो पनि आफ्नै प्री- डिसाइडेड उत्तर हुन्थ्यो। ढुक्कै छाति फुलाएरै भन्दिन्थेँ -"मैँया सँ बिहा अर्चु” ।मेरो कन्फिडेन्ट उत्तरले मैंयाको मम्मी मुसुक्क हाँस्नुहुन्थ्यो ।त्यस समय मैँया र मैँयाको दाई सबिन मेरो फ्रेन्ड लिस्ट्मा अगडि आँउथे । हामी हाम्रो टौवाको मुनि भाँडाकुटि र पुतली खुब खेल्थौँ । खेल्दा धेरै जसो हामी मैँया र मेरो बिहे गर्ने खेल खेल्थौँ । सबिन र उमा दिदी मैँयाको बा-आमा बन्थे। खेलमा मैलै मैँयाको सो-कल्ड बाआमासँग हात माग्नु पर्ने हुन्थ्यो । मैँयाका सो कल्ड बा तेरो जागिर छ की छैन भनि केरकार गर्थे अनि म बाजेको खुकुरी चोरेर ल्याउँथे ,दाप बाट झीकेर टल्काउदैँ म लाहुरे हुँ भन्थेँ। यत्रो गर्दा पनि मैँया को सोकल्ड बाआमा कहाँ मान्थे र ? त्यसपछि मेरो परिक्ष्ण सुरु हुन्थ्यो । लेफ्ट राईट। मैँयाका सो-कल्ड बा लेफ्ट राईट, लेफ्ट राईट भन्थे ,म चाहि उनैको लेफ्ट राईटमा खुट्टा बजार्थेँ ।यत्ति गरेपछि मैयाका सो कल्ड बा-आमा टोटल्ली एगरिड । त्यसपछि मेरो र मैँया को बिहे धुमधाम संग हुन्थ्यो ।
|
फस्ट लभ : अ नोस्टाल्जिक फ्ल्यास ब्याक |
घर बनाउँदा बचे-खुचेका काठ का साना तिना टुक्रामा पाक्थे हाम्रो बिहे को भतेर । माटोको पुलाऊ ,बारीबाट चोरेर ल्याएको स्कुसको मासु ,तेई पनि चोरेर ल्याएकै खुकुरीले काटेर असुरोको पातमा थपि-थपि चिउँडोले खन्थ्यौँ । त्यसपछि बिहे को क्लाइमेक्स सुरु हुन्थ्यो । उमा दिदीको पछेउराले घुम्टो ओढेर मैँया अन्माउन लागेको बेहुली झै घुँ-घुँ रुन्थी । अनि दिनेशको ग्याङ् , मुखैले बाजा बजाउथे प्याँ -प्याँ..............
उसबेला हामी संपुर्ण रुपमा स्वतन्त्र थियौँ। खुल्ला आकाशमा उडेको पन्क्षी जस्तै । मैँया हिड्दा पुतली झै फुर् फुर् फुर् फुर् गर्दै हिड्थी मलाई मैँया को त्यो फुर् फुर् हिनाई खुब् मन पर्थो । आजपनि कुनै सानी केटीहरु कोही त्यसरी हिडेको देखेँ भने मैँयाको खुब याद आँउछ । मैँया र म ढुकुर जोडी जस्तै थियौँ । हामी हात समातेर कहिले माथिल्लो गाउँ जान्थौँ त कहिले तल्लो । कहिले टारी खेतको कान्ला कान्लै हाम फाल्थौँ त कहिले स्कुलको चौरमा लडिबुडी खेल्थ्यौँ । त्यसबेला चाडबाडले हाम्रो खुसी मा बिशेष महत्व राख्थे । तीज मा मम्मी सगैँ मैँया हाम्रो घरमा आउथी , घरमा मिठो मिठो पकाएर नाचगान गर्थे । मैँया पनि मम्मीहरु सँग नाच्थी । साँची भन्ने हो भने मैँया नाच्नमा ज्यादै सिपालु थिई । रेडियोमा गीत बजेको होस् या कतै मादल बजेको होस् ,मैँया नाचीहाल्थी । आफ्नो भने हालत ठिक उल्टो । एक पटक तिहारमा भैलो खेल्ने क्रममा सबैले मलाई र मैँयालाई नाच्न लगाए । मैँया त खुब नाची, आफ्नो भने खूट्टै चलेन ।
- “न ननाच्ने भए त मैँयासंग बिहे नै गराईदिन्न नि” - मैँया को मम्मीले थ्रेट नै पो दिनु भयो त बा ।
त्यसपछि परेन फसाद। मैँया सँग बिहे गर्न नपाउने डरले नाचेँ , लैनो पाडो झैँ ।सबैजना ताली बजाउदैँ हाँस्न थाले । यता आफ्नो होस-हवास त कता उढ्यो कता।
मैँयाको मम्मी र हाम्रो आमाले तिहारमा सेलरोटी पकाउनु हुन्थ्यो ,कहिले मैँयाकोमा त कहिले हाम्रो घरमा । त्यतिबेला केटाकेटी उमेर न हो ,हामी खुब खुसी हुन्थ्यौँ। सेल पकाइसकेपछि देउतालाई चढाउने चलन छ हाम्रोमा । तर मन कहाँ मान्ने? बाजेलाई कर् गरी देउतालाई चढाउन लगाउँथ्यौँ । सेल धेरै खान त कहाँ सक्थ्यौँ र ? तै पनि पाखुराभरी सेल छिराएर माला लगाएजस्तै बनाउथ्यौँ । अनि एक अर्कालाई हेर्दै हाँस्दै खाएको पल सायद म जिन्दगीभर मिस गरिरहन्छु ।मैँयाको घर होस् चाहे हाम्रो घरमा होस् ,मैँया र म एउटै थालमा खान्थ्यौँ । मलाई सम्झना भएसम्म जब मैँयालाई उसको मम्मीले खाना खुवाउन खोज्नु हुन्थ्यो ,मैँयाको बाहना-बाजि सुरु हुन्थ्यो । मैँयालाई खाना मसंगै खान पर्ने । अनि मैँयाको मम्मी हाम्रो घरतिर झर्नु हुन्थ्यो, मैँयालाई काखमा बोकेर । एउटा गाँस मैँयालाई अनि अर्को मलाई खुवाउनु हुन्थ्यो । मैँया र ममा जुठो - चोखो भन्ने कहिल्यै भएन ।पछि ठुलो हुँदासम्म हामी एक अर्काको जुठो खान्थ्यौँ।
मैँयाको ड्याडी ईन्डियन आर्मी अनि हाम्रो ड्याडी नेपाल पुलिस, सानोमा कुनै कुराको कमी राखेनन् ड्याडीहरुले । ड्याडीहरुले ल्याईदिएका नयाँ नयाँ लुगा लगाएर गाउँ डुल्नुको मज्जा बेग्लै थियो ।
एउटा दसैँ थियो । जुन दसैँमा ड्याडीले जुत्ता ल्याइदिनु भएको थियो -चुँई चुँई बज्ने जुत्ता । मम्मीले जुत्ता लगाइदिनुभयो । खूट्टा भुइँमा टेकेँ । जुत्ताले आफ्नो करामत देखायो । चुँई चुँई बज्यो । जुत्ता जती चुँई चुँई गर्थ्यो ,त्यती नै चाँडो गएर मैँयालाई देखाउन मन उचालिन पो थाल्यो । जुत्ताको चुँई चुँई र मनको पुइँ पुइँ लिएर दौडिँए मैँयाको घरतिर । जुत्ताको चुँई चुँइ सुनेर मैँयाको मम्मीले हाँस्दै स्वागत गर्नुभयो ।
-“ जुत्ताभित्र त मुसा नै बोकेर ल्याइस कि के हो ?”- मैले उहाँलाई इग्नोर हान्दिएँ ।
“मैँया खै त अन्टी?”- स्वाँ स्वाँ गर्दै सोधें ।
आन्टी ले पनि डबल इग्नोर हानीदिनुभयो –“पिङ् तिर गाकी होली नी ।“
त्यसपछि दौडिँए पिङ्तिर । म भन्दा पनि पहिले जुत्ताको चुँई चुँई पुग्यो पिङ्मा । मैँया र सबिन दौडिएर मेरो जुत्ता हेर्न आईपुगे ।बडो रोम्यान्टिक् मूडका साथ मैँयाका लागि डेडिकेटेड बनेँ - एकछिन लगाउच्यौ? मैँया खुसी हुँदै मून्टो हल्लाई । फुकालेँ र मैँया लगाइदिएँ । चुईँ चुईँ पार्दै मैँया दौडी।
- मलाई नि एकछिन त लाउन दे है? सबिन ले आशा भरिएको आवाजमा बोल्यो।
- तेरो पनि जुत्ता छ नि? किन नलाको ? अलि कन्जुस बनेँ।
- त्यो त मामाघर जाँदा मात्र हो रे। अनि मेरो जुत्ता चुईँचुईँ पनि गर्दैन । रुँला झै गरेर सबिन एकैचोटि बोल्यो ।
- ल ल, पैला मैँयालाई लगाउने धोको पुगोस् अनि दिम्ला भन्दै सान्तवना दिएँ ।
त्यसपछि पिङ्मा रमाइलो मान्दै खेल्यौँ। मैँया चुईँचुईँ गर्ने जुत्ता लगाएर खुसिले आफ्नै संसारमा हराई । म मैँयाको खुसिमा रमाएँ । त्यसपछि के भयो खास्सै याद छैन। एक्कासी आमाले हकारेको याद छ ।
- त्यस्तो बज्ने जुत्ता मोराले एकैछिनमै बिगारेछ । अब जुत्ता पनि बिग्रियो , मामा घर जादाँ के लाउछस् ? मामाघर नै जान नपाउने भाइस् नि ।
म त केही सोच्नै सकिन, त्यसपछि के थियो र? पिलपिल आँशु झार्दै रोइदिएँ । अनि आमाले मुसार्दै फकाउन थाल्नुभयो ।
भएछ के भने ,मैँयासँग मागेर जुत्ता सबिनले लगाउछ । मोरो जुत्ता कहिल्यै ठिक संग लगाउन जान्दैन्थ्यो । उल्टो लगाउछ । अनि कता कता गयो । मेरो जुत्ताको चुईँचुईँ गर्ने ( खै के थियो त्यो त्यसबेला?,तर मुसाजस्तै चुईँचुईँ गर्ने चिजले मेरो जुत्ताको प्राण भरेको थियो जस्तो लाग्थ्यो ) चिज नै कता हराइदिएछ कता। त्यसपछि मेरो जुत्ता लाटो बन्यो ,सामान्य सबिनकै जुत्ता जस्तो ।
सानोमा मलाई लुगा लगाउन खास्सै आउदैन्थ्यो । उल्टो सुल्टो चिन्दिनथेँ। मैँया उल्टो सुल्टो चिन्थी।,अनि मलाई सिकाउथी । मैँयाले त्यसरी सिकाएको ज्यादै मन पर्थ्यो। मैँया ,जो मेरो लागि बिशेष थिई ,जिन्दकीमा धेरै कुरा सिकाई ।
यसरी रमाइलो गर्दै एक अर्काको खुसिमा रमाउँदै हाम्रा बाल्यकालका सुनौला दिनहरु बिते । त्यसपछी अझ खुसीका दिनहरु सुरु भयो । हामी स्कूल भर्ना भयौँ । प्रा.बि सम्मको त्यस स्कूलमा हात समाई स्कूल जानु ,स्कूलमा लगेको खाजा बाँडेर खानु ,सँगै कपुरी क, खरी ख रट्टान मार्नु हाम्रो दैनिकी हुन थाल्यो । मैँया लाई ए,बि,सि,डि खास्सै कन्ठ आउदैनथ्यो मैले जान्या थेँ । एक पटक मिसले मैँया लाई ए,बि,सि,डि सोध्नुभयो । मैँया ले ... आई,जे,के,एल् सम्म त जानी ,त्यसपछि जानिन । मैले आवाज ननिस्किने गरी मुख खोलेँ .. एम् ,एन् ...। त्यसपछि खै? मैँयाले भनी या भनिन तर मेरो दिमागमा दिउँसै ताराहरु चम्किए। मिसले सिकाएको थाहा पाउनुभएछ। गालामा लगाईहाल्नुभयो ।
२ कक्षामा पुगेपछी केटा र केटी छुट्टै बस्नुपर्थ्यो । तर मैले मानिन । मैँयासंग बस्न नपाउने भए त म स्कूलनै जान्न भनेर घरमा बबाल नै मच्चाएँ । आमाले सरहरुलाई भनिदिनु भयो । अनि मैँयासंग चल्दै दिनहरु बिते । कहिले मैँयाको कापिमा कोरेर त कहिले पेन्सिलले घोचेर मैँयालाई जिस्काइरहन्थेँ । बेला बेलामा त मैँया रुन्थी । अनि म उसलाई फकाउथेँ।
एक दिन मैँयाले भनी - तँ उता गएर बस् न ।
मलाई दुख लाग्यो -किन र?
- त्यसै के, सबैले जिस्काम्न्छन्,त्यै भर नि ।
सायद मैँयालाई पनि लाजका छाँयाहरुले छोपेछन् क्यारे । अनि हामी स्कूलमा छुट्टै बस्यौँ। खेल्ने हाफ छुट्टिमा बाहेक ।
छुट्टीका दिनहरु अझ रमाइलो हुन्थ्यो। हामी छुट्टीको दिनहरुमा काकाहरुको पछि लागेर गोठालो जान्थ्यौँ। गोठालो जाँदा एसेँलु ,काफल खान पाइन्थ्यो ।
यस्तै एक बसन्त ऋतुको समय थियो । पारी वनबाट काफल पाक्यो चरोले काफल पाक्यो काफल पाक्यो भन्दै हामीलाई बोलाउथ्यो । हामी बार्षिक परिक्षा सकिनासाथ काफल खोज्दै जंगल जान्थ्यौँ । काफल खान जाने हाम्रो ग्याङ् नै हुन्थ्यो । सबिनहरु रुखमा हुन्थे हामी भुइँमा। उनिहरु काफल फलेको हाँगा भाँच्दै तल फाल्थे हामी खोजेर खान्थ्यौँ। एक पटक मैँया ,म र काकाको छोरीहरुसँग हामी काफल खान गयौँ। जान त गयौँ तर रुख चढ्न सक्ने कोही थिएन । मैले रुख चढ्नु पर्ने भयो । बल्ल बल्ल चढेँ । काफल टिपेँ अनि भुइँतिर फालेँ । मैँयाहरु काफल टिप्नैमै ब्यस्त थिए । त्यसपछी अलि माथि चढेर काफल के टिप्न आँटेको थिएँ ,खूट्टाले रुख छोडेछ । काफलभन्दा पहिला भुँइमा पुगेँ । स्वास फेर्न गाह्रो भयो । न रुन सकेँ न हास्नै । मैँयाहरु रुन लागे । पछि बल्ल बल्ल नर्मल भएँ । फर्कदाँ बाटामा मैँयाले फ्रकको गोजीबाट काफल झिक्दै - ला , तलाइँ पाकेको पाकेको काफल राख्द्या छु भन्दै दीइ । मेरो मन खुसिले उचालियो उता बहिनीहरु रिसले भुतुक्कै भए ।
-यी मैँया दिदी पनी कस्ती छिन,सन्तोष दाइलाई मात्र पाकेको काफल दिन्छिन के । हाम्लाई चैँ अमिलो मात्तै दिन्छिन् ।
सायद त्यो समय आज भएको भए म भनिदिन्थेँ –“आफ्नो भनेको आफ्नै हुन्छ नि”।
रबिन्द्रनाथ टैगोरले ‘फ्रम द पेपरबोट’ कबिता लेखे र कागजको डुङ्गा बनाई आफ्नो नाम लेखी बगाए। उनको उदेश्य टाढा देशको मान्छेले डुङ्गा फेला पारुन् र आफुलाई चिनुन् भन्ने थियो । मैले पनि कागजको डुङ्गा बनाई बगाएँ। हाम्रो स्कूल तल खोला थियो । खोलाबाट खेतमा पानी लैजाने कुलो थियो । त्यस कुलोमा हामी बर्खामा खुब खेल्थ्यौँ। क्यातुकी घारी हुँदै जाने त्यस कुलोमा मैले कागजको धेरै डुङ्गा बगाएँ। टैगोरले आफ्नो मात्र नाम लेखे। मैले आफ्नो र मैँयाको नाम मात्र लेखिन, दुबैको नामको बिचमा पल्स (+) पनि लेखेँ ।अनि कुलोमा बगाएँ। मैँया मुसुक्क हाँसी । हाँस्दा मैँयाको गालामा खाल्टो पर्थ्यो,डिम्पल । यस्तै खेल्ने क्रममा मैले एक पटक गँगटो भेटेँ । उट्पट्याङ् बुद्धि आइहाल्यो । गँगटोलाई समातेर मैँयातर्फ फाल्नलाई के हात बढाएको थिएँ ,बजियाले औँला कर्याप्प पार्दियो । रगत नै आउने गरी गँगटो औँलामा झून्डियो । जती गर्दा नि फाल्न सकिन । चिच्याएँ । मैँया दौडेर आई अनि गँगटोलाई थुतेर फाल्दै भनि -डरछेरुवा ।
हामीले ५ कक्षा पास गर्यौँ। आधा घण्टा टाढाको हाई स्कूल जाने भैइयो । आकासे निलो सर्ट्,गाढा निलो पाइन्ट (केटीहरु फ्रक लगाउथेँ),पायल चप्पल पड्काउदै अनि बाटोमा मैँयासँग चल्दै स्कूल जानुको मज्जानै बेग्लै थियो । यस्तै एक पटक हामीसँगै पढ्ने अशोकेले मैँयाको झोलामा लभलेटर लेखेर राखेछ । फर्कदा मैँया खासै जिस्कने मुडमा देखीइन । मैले जिस्काई मात्र रहेँ। मैँया जँगीई । - के डिङ्च्च दाँत देखाएर हाँसेको नि।
म पनि के कम। बोलिहालेँ- नहाँसेर के आशुँ झार्दै रुनु त ?
- सुन् न , अशोकेले हेर् न यो चिठी झोलामा राख्देछ । कस्तो लाजै नभाको नकचरो रैच " निन्याउरो मुख पार्दै मैँयाले पोल खोली ।
- मा... त्यस्को त्यत्रो हिम्मत .. त्यस्को ... पख् मैले भोलि जान्या छु। मेरो पनि दिमागको पारो चढिहाल्यो।
त्यसको भोलिपल्ट लाईनमा बस्नु अघि नै अशोकेले मेरो मुक्का भेटिहाल्यो । त्यसपछि सरहरुलाई काण्ड पुगिहाल्यो। लाइन अघिल्तिर अशोकेलाई र मलाई लगियो। त्यत्रो बिध्यार्थी सबको नजर हामीमै । हेडसर बुढाले केरकार गरे। अशोके त बोल्ने कुरै भएन । मैले बोलेँ - सर यस्ले मैँयालाई चिठी लेख्यो त्यै भर।
बुढा कड्किए -"मैँया चाहिँ तेरो को हो र? अझ हिरो बन्छस् भन्दै भन्दै ढाडमा लौरो बर्साए । बुढाको थर्काइ र लौरोको बर्साइले जमिन घुम्यो। त्यत्रो बिद्ध्यार्थीको हुलमा मैले केहि देखिन मात्र मैँया । कक्षा ७ को केटिहरुको लाइनको अन्तिममा मैँया आखाँभरि आँसु पार्दै भुइँमा हेर्दै थीई । मेरो पनि आखाँबाट आँसु आइहाल्यो।
त्यसपछि बुढाले अन्तिम भाटा हान्दै बोले।
- “जा पाजी,यस्तो रुन्चे पनि बडो हिरो बन्दो रैछ”। म लुरुलुरु लाइनमा गएँ । त्यो दिन लाग्यो , सरहरु आफ्नै पारामा पढाइरहेछन , म आफ्नै पारामा हराइरहेछु । पुलुक्क पछाडी मैँयालाई हेरेँ। ऊ पनि खै ? एकोहोरो टोलाहिरहेकी थीई । फर्कदाँ बाटामा मैँया खास्सै बोलिन । बेलुका खाना खाइसकेर हाम्रो घरमा संगै पढ्नु छ भनि आई। पढ्नु त के नै हुन्थ्यो र? चल्दै होमवोर्क गर्नु न थियो । त्यस साँझ मलाई खास्सै पढ्न मन लागेको थिएन ।
- विज्ञानको होमवोर्क सकिस्? - मौनता तोड्दै मैँयाले सोधि ।
- छैन ।
- गर्नु पर्दैन त? कस्तो अल्छी रैछ भन्दै मेरो झोलाबाट किताब कापी झिक्न थाली । त्यसपछि मैँयाको कापीबाट होमवोर्क सार्न थालेँ।
- तलाईँ हेडसरले पिट्दा सारै दुख्यो है? मैँया बोली । म सारिरहेँ। खै देखा त भन्दै मेरो ढाडमा सुम्सुमाउन थाली । दिउँसोको हेडसरको भाटाको लाल निसान अझै ढाडमा थियो ।मैँयाको चिसो हात जब लौरोको डामहरुमा सलबलाउथे, पिडा भरिएको भाव मैँयाको अनुहारमा देखिन्थे । म नि:सकोच देखिरहेथेँ मेरो धुलाईले मैँयालाई पनि दुखिरहेथ्यो । उसले फेरी बोली ।
- तँ पनि सारै छस् के । पिटीहाल्नु पर्थ्यो त ?
मेरो रिस् अझै बाँकी थियो।
- त्यसलाई अझै काँ पुगेको छ र? तेइ बेलामा कार्की सरले देखेर त हो नि ,नत्र मैले जान्या थेँ । मैले पनि जँगिदै भनेँ।
जे होस हेडसरको पाजी हिरोको रिस चैँ कडै छ भन्दै मैँया हाँसी। मैले पनि हाँसो थाम्नै सकिन । हामी खितिति हाँस्यौ।
- "खुरु खुरु नपढि कति खित्का छाड्दै हाँस्छौ ए ।" जुठेल्नोबाट मम्मीले कराउनु भयो।
स्कूलको त्यो काण्डपछि म र मैँया स्कूलमा त्यति सार्हो नजिकिन्नथ्यौँ । त्यसपछि म दिनेशेहरुसँग अलि बढि झ्याम्मिन थालेँ । दिनेशे न हो । म भन्दा कम्ति फटाहा थिएन । उसबेला सबैले काँक्रो लगाउथेँ। पछिसम्म धेरैको घरको छानामा मादलजत्रो काँक्रो हुन्थ्यो । एकदिन दिनेशेले योजना बुन्यो । मैँयाको घरको काँक्रो चोर्ने । चोर्न त चोर्ने तर मैँयाकै घरको ? मलाई पो फसाद पर्यो । मैँयाले थाहा पाई भने त बर्बाद नै हुन्छ त । त्यसपछि मैँयाको अगाडि कसरी पर्ने?
तर काँक्रो चोरियो।
बेलुका मैँयाको मम्मी हाम्रो घर गफ गर्न आउनुभयो । मैँया र म आआफ्नै सुरमा होमवोर्क गर्दै थियौँ दलनमा। तलबाट मैँयाको मम्मीको आवाज आयो।
-“ हेर्नुस न थपिनी बज्जै ,कुन चैँ फटाहाले काँक्रो त चोरेछ भन्या । काँक्राको बिउ नै मासिने गरेर नि कसैले चोर्छ त भन्या ? तिनका हातआँ कोर पनि सल्किन नसकेको । झन अचार बनाएर राखौँला भनेको तिनका हात ठनक्कै भाँचिएछ भन्या”।
मैँयाले पुलुक्क मतिर हेरी ।
- काँक्रो चोरिस्?
- हैन ।
- ढाट्छस् ? तेरो त । मैँयाको अगाडि के लाग्नु । म नतमस्त भएँ। त्यसपछि पुलिसले अपराधिलाई सोधेझैँ मैँयाले सोध्न थाली ।
- कुन बेला चोरिस्?
-को को थियौ?
- काँ लगेर खायौ?
- डर लागेन ?
म पनि पिन्चे हुदैँ मैँयाको जवाफ दिदैँ गएँ । अन्तिममा मैँयाले थ्रेट दीई । अबदेखि यस्तो काम गरिस् भने मैले जान्या छु तलाईं।
म हिस्स परेँ।
यस्तै एकपटक स्कूलबाट घर फर्किदै थियौँ। दिनेशेले सुटुक्क कानमा भन्यो- ओइ, सन्ते, अलि ढिलो हिन् न, म तलाईं के पो देखाउँछु । म अलि ढिलो हिँडे । मैँयाहरु अलि टाढै पुगिसकेका थिए । दिनेशेले झोलाबाट चुरोट र सलाई झिक्यो।
- आइज, आज हान्दिम् ।
मलाई डर लाग्यो।
- अरुले देखे भने नि?
देख्दैनन् क्या, कति डराको, तलाई नजिकको साथी भनेर पो बोलाको नि भन्दै हात तान्यो र लाग्यौँ बाटोमूनि । झ्वार् सलाई कोर्यो, मुखले चुरोट च्याप्दै सल्कायो। त्यति मात्र कहाँ हो र? मुखबाट धुँवा तानेर नाकबाट फालिदियो । म चाहिँ ट्वाँ ।
- ट्राई मार्ने होस्? उसले चुरोट मतिर बढायो ।
चुरोट तानेँ। कति गर्दा नि नाकबाट निकाल्नै सकिन । दिनेशेले सिकायो । आधा-उधि धुँवा नाकबाट के निकालेको थिएँ , चुरोटले आफ्नो ताकत देखायो । जमिन घुम्यो । भनन रिँगाटा लाग्यो । चुरोट खाइसकी बाटोमा के उक्लिन लागेको थियौँ । ठिँग अगाडि मैँया । दिनेशे त भागिहाल्यो । मैले शिर उठाएर मैँयालाई हेर्नै सकिन।
- पख् तलाईं । तेरो आमालाई नभनी काँ छोढ्चु र। आज भोलि किन पर पर हुन्छ भनेको त चुरोट खानलाई पो रैछ भन्दै सातो लीई । डिँच्च हाँस्नु बाहेक केहि जानिन ।
त्यसपछि बाटाभरी मैँया संग बिन्तिभाउ मात्र गरीरहेँ।
- बिध्या कसम ,पहिलो चोटि हो के, नभन्दे है।
भन्न त मैँयाले भनिन तर त्यो कुराले पछी सम्म ब्ल्याक मेल चाहिँ गरिरही।
टाढाको स्कूल ,आउँदा जाँदा त रमाइलो नै हुन्थ्यो तर बर्खामा सार्है गार्हो । गार्हो पनि पानीले भिजिने भनेर होइन। ,चिप्लिएर लडिन्छ कि भनेर । रातो माटो पानी पर्यो कि चिप्लो हुने । त्यहि माथि पनि लाउँदा लाउँदा घोटिएर चिल्लै भएको चप्पल । एक पटक फर्कँदा बाटोमा पानी दर्किहाल्यो । छाता साता बोकेको थिएनौँ । बाटामाथिको बारीबाट कर्कलोको पात चुँडेर ओढ्दै दगुर्यौँ। पानी यसरी दर्किएको थियो कि मानौँ बाटोमा बगेको पानीले नै हामीलाई बगाउला जस्तो थियो। म बाटोमा हेर्दै कुद्दै थिएँ । मैँया पछि पछि आउँदै थिई। पारीपट्टी सालघारी पुरा सुसाइरहेको थियो। एकैचोटि मैँया बन्द्र्याम्म लडी । यसो पछडि हेर्छु त मैँया पुरै हिलोमा लडिछ । मेरो बुद्धि पनि उस्तै ,प्याच्चै बोलिहालेँ।
- माछोको ठुलै भोटी नै समातिस् कि क्या हो मैँया ?
ठुला आँखा पार्दै मैँया उठी। केहि बोलिन । त्यसपछि फ्ट्टाफट मेरो अघिबाट हिँडी। मेरो उट्पट्याङ् बुद्धि देखेर आफैलाई ग्लानी भयो। मैँयालाई बोलाएँ ।
-ओई मैँया ,यता हेर त ,तलाईं सार्है दुख्यो हो? रिसाइस कि के हो ? मैले त त्यसै रमाइलो पो गर्या हो त ।
अँह ! ढुँगो बोल्थ्यो कि ? तर मैँया बोलिन। बेलुका पढ्न हाम्रो मा पनि आइन ।
गाँउमा शनिबार धेरैजसो केटीहरु घाँस काट्न जान्थे । त्यसमा कोहि कोहि केटाहरु पनि हुन्थे। बर्खामा बारीतिरै काटेपनि हिउँदमा जंगल जान्थे। आफुलाई भने घाँस काट्नु भनेको लँका नै जलाउनु जस्तै गार्हो लाग्थ्यो। एक दिन सबेरै नाम्लो हँसिया लिएर मैँया हाम्रो घरमा आई। म सुतिरहेको थिएँ । मैँयाले आमासंग खै के खासखुस् गरि । त्यसपछि आमाले कराउन पो थाल्नु भो त बा!
- ए अल्छी अझसम्म सुतिराछस् ? तँ संगैको मैँया हेर् त, घाँसको भारी ल्याउने भैसकी तँ चाँहि अल्छी डाँगे नै भइस् ।
- मलाई घाँस काट्नै आउन्न के आमा । हात मात्रै काटिन्छ के। म जान्न है मात्र के भनेको थिएँ, आमा त झन् कड्किन पो थाल्नु भो।
- तलाई कराईभरी दुध कसरी आउँछ त? बिस्तारै काट्न थालेपछि बानी परिहाल्छ नि । मैँया आकि छ । उसैले मुठा पारेर भारी बोकाइदिन्छे। त्यसपछि नगएर सुख र!
बिहानभरि सुत्ने बानी परेको म आँखा मिच्दै मैँयाको पछि पछि हिडेँ ।
-तैँले आमा लाई के भनिस् हँ ? आमा त पुरा आज त आगो पो हुनुभयो त। मैँयासंग रिस पोखेँ। मैँया केहि बोलिन ।
- आज त पश्चिमबाटै घाम उदाउँछ कि क्या हो? तँ पनि आको ? सुनिता दिदीले खिसी गरिन । म चुप् रहेँ।
घाँस त के काट्नु थियो र । काट्न नजानेर घाँसभन्दा बढि मैले आफ्नै हात काटे हुँला। हातका औंला फिजाएर हेर्ने हो भने अझै पनि कुनै योद्धाको जस्तो हातैभरि काटेको खतहरु छ।
जंगलमा घाँस काट्दै सबैजना गीत गाउन थाले । बेलाबेलामा दोहोरी नै चल्थ्यो। मलाई पनि मुड चल्यो। छिटो छिटो घाँस काटेर भारी हाल्छु अनि मैँयासंग दोहोरी खेल्छु भन्ने सुरले के काटेको थिएँ , करौंतीले हात छोई हाल्यो। आफ्नो ताल र करौंतीको ताल नमिलेपछि कस्को के लाग्नु ! हातबाट रगत चुहाउँदै दौडिएँ मैँयातिर । मैँया सुरिलो भाकामा गीत गाउँदै थिई।
- पारिबाट को आयो, सालको पात बजाउँदै, हितकारी मायालाई बोलाउदै।
म पनि के कम? आफ्नै पारामा गाईदिएँ ।
- पारि बाट म आएँ ,हातको रगत चुहाउँदै ,हितकारी मैँयालाई बोलाउँदै।
बसिबसि घाँस काटेकी मैँया जुरुक्क उठी। यसो मतर्फ हेर्दै सोधि ।
- के भन्छ यो?
- फेरि हात काटिस्?
- बिताइहालिस् नि!
त्यसपछि मैँयाले बनमारा हातले निचोरेर मेरो काटेको ठाँउमा चुहाइदिई । त्यसैलाई हातमा राखी पाटुकाको फेर च्यातेर बाँधिदिई। त्यसपछि मेरो घाँस मैँयाले नै काटिवरी भारी हालिदिई।
फर्कँदा राधा भाउजुले मैँयालाई जिस्काइन्।
- के हो मैँया नानी , सन्तोष बाबुलाई त अति नै गर्नुहुन्छ त?
घाँस बोकेर लस्करै हिडेको त्यो भीडबाट एउटा आवाज आयो।
- के गर्नु भाउजु ? यस्को अत्ति नै माया लाउँच।
भारी बोकेको म मुसुक्क हाँसे
…………………………………………………………………………………………………… क्रमस:
यस कथाका लेखक सन्तोस थापा अहिले टि.यू, आइ.ओ.ई, थापाथली क्याम्पस चौथो वर्षमा अध्यन गर्दै छन्